काठमाडौं | नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचारसंहिता जारी गरिएको छ । अनलाइन टिभी पत्रकार सङ्घले ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ जारी गरेको हो ।
काठमाडौँमा आज आयोजित आचारसंहिता घोषणा समारोहमा सङ्घका अध्यक्ष जीवन भण्डारीले १२बुँदे आचारसंहिता घोषणा गरेका हुन् । उनले एआईको दुरुपयोग न्यूनीकरण गर्ने र एआईको प्रयोगलाई सही बाटोतर्फ लैजानका लागि आचारसंहिताको आवश्यकता भएकाले एआई आचारसंहिता जारी गरिएको बताए ।
एआईको प्रयोग अनलाइन टिभीहरुमा बढ्ने सम्भावना अत्यधिक देखिएकाले अनलाइन टिभीकर्मीलाई बेलैमा सचेत र जिम्मेवार बनाउन अनलाइन टिभी एआई आचारसंहिताको आवश्यकता महसुस गरिएको अध्यक्ष भण्डारीले बताए ।
सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था क्यान महासङ्घका वरिष्ठ उपाध्यक्ष चीरञ्जीवी अधिकारीले अनलाइन टिभी एआई आचारसंहिता नै नेपालको पहिलो एआई आचारसंहिता भएको दाबी गरे ।

