बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) भिड्ने भएका छन् |
फाइनल खेलको अघिल्लो दिन खेलमैदानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि जित्ने दाबी गरेका हुन् ।
झापा कपको पहिलो चरणमा गोर्खा ब्वाइज स्पोर्टस् क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिरहाको सलहेश फुटबल क्लबलाई पराजित गरेको थियो ।
त्यस्तै, चित्लाङ फुटबल क्लबलाई रोक्दै अन्तिम चारमा प्रवेश गरेको एनआरटी इटहरीको राष्ट्रिय जागृतिलाई टाइब्रेकरमा पछि पार्दै फाइनल पुगेको हो ।
प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता रहेको थियो । आयोजक झापा–११ सहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सलहेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौँ र चित्लाङ एफसी काठमाडौँ सहभागी भएका थिए ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।

